देवबहादुर कुँवर
तीन दशकअघि राजधानी काठमाडौँमा कतै छुरी चल्दा मुलुकभर नै चर्चा हुन्थ्यो । करिब चार दशकअघि काठमाडौंँो सातघुम्तीमा एकजना ट्याक्सी चालक छुरी प्रहारबाट मारिएपछि देशभर नै ठूलो होहल्ला भएको थियो । अहिले राजधानी उपत्यका देशमै सबैभन्दा बढी अपराध हुने थलो बनेको छ । विगगतको शान्त काठमाडौँ वर्तमानमा अपराध केन्द्रमा परिणत भएको छ र सङ्गठित अपराधले नराम्रोसँग जरा गाडेको छ ।
अपराध बढ्दैछ
महानगरीय प्रहरीको एक तथ्याङ्कले काठमाडौँ उपत्यकामा अपराध तीव्रगतिमा बढिरहेको देखाएको छ । आर्थिक वर्ष २०६४/६५ मा चोरी, डकैती, लुटपाट, अपहरण, हत्या र धम्की लगायतका करिब तीन हजारवटा घटना भएका थिए । आर्थिक वर्ष २०६६/६७ मा सो सङ्या बढेर करिब चार हजार आठ सय पुग्यो । चालू आर्थिक वर्षको फागुनसम्ममा सो सङ्ख्या साढे हजारको हाराहारीमा पुगेको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान ब्युरो -सीआईबी) प्रमुख एवं नायब महानिरीक्षक राजेन्द्र भण्डारी भन्नुहुन्छ- काठमाडौँ सहर सबैका लागि आकर्षणको केन्द्र बन्दै गइरहेकाले राम्रो र नराम्रो मान्छेको प्रवेश स्वाभाविक हो ।
राम्रा मान्छेका साथै नराम्रा मान्छेको पनि आकर्षका कारण अन्य सहरको तुलनामा अपराधको मुख्य निशाना काठमाडौँ उपत्यका हुँदै आएको छ ।
टोले दादाबाट गुण्डागर्दीः
गुण्डागर्दी दादागिरीबाट विकसित भएको देखिन्छ । राणाकालीन समयमा दादागिरी थिएन । २००७ सालपछि धेरैले राणा शासकको जगजगीबाट मुक्ति पाए तर टोल छिमेकमा नराम्रो काम गर्नेलाई कुटपिट गर्न अगाडि सर्ने युवाहरू दादाको रूपमा देखा पर्न थाले । ढल्को निकासी समाजसेवी महेन्द्र शाही पञ्चायतकालमा दादागिरी टोल-टोलमा टोले दादाको रूपमा फस्टाएको बताउनुहुन्छ ।
एक टोलका युवासँग अर्को टोलका युवाको झगडा भएको खण्डमा टोले दादालाई अगाडि बढाएर अर्को समूहसँग लड्न जाने चलन रहेको अनुभव सुनाउँदै उहँा भन्नुहुन्छ- त्यो झगडा समूहगत नभई एकल-एकल दादाबीच मात्र हुन्थ्यो । जित्ने खुसी भएर जान्थ्यो भने हार्ने पछि फेरि लड्ने भन्दै फर्किन्थ्यो । अचेल दादागिरीको ठाउँ गुण्डागर्दीले लिएको छ । गुण्डागर्दी
निख्खर स्वार्थपूर्तिका लागि हुने भएकाले २०४६/४७ सालपछि गुण्डागर्दीले अपराधको रूप लिएको हो ।
आयआर्जन र लगानीको क्षेत्रः
गुण्डागर्दी आयआर्जनको सजिलो माध्यम भएको छ । धम्कीको भरमा लाखौँ रुपियाँ आउने भएकाले कपितय बेरोजगार युवा गुण्डागर्दीजन्य अपराधमा संलग्न रहँदै आएका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता माधवप्रसाद नेपाल भन्नुहुन्छ- गुण्डागर्दी गर्नेका लागि लागू औषधको अवैध कारोबारसँगै जग्गा प्लटिङ्ग, वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावरहरू, सपिङ कम्प्लेक्स तथा हाउजिङ, ठेक्कापट्टा, टेन्डर, बालुवाखानी, रेष्टुरा र रक्तचन्दन तस्करीलगायत विभिन्न व्यापार व्यवसाय आय आर्जनको मुख्य स्रोत हो । पैसाकै लागि कतिपयको गोली हानी हत्या र ज्यूँदै मान्छेलाई आगो लगाई जलाइदिने जस्ता जघन्य अपराध हुँदै आएका छन् । यिनीहरूले साना हातहतियारको बेचविखन तथा भाडामा लगाएर पैसासमेत असुल्ने गरेका छन् ।
राजनीतिक संरक्षण
उपत्यकामा गुण्डागर्दीमा संलग्न आपराधिक समूहलाई राजनीतिक दलहरूले प्रत्यक्ष वा परोक्ष संरक्षण गरिरहेका छन् । प्रायः अवसरवादीका रूपमा देखिने गुण्डाहरूको समूह जो सत्ता र शक्तिमा छ सोही पार्टी र पार्टीको भ्रातृ सङ्गठनका पछि लाग्नेहरूको सङ्ख्या अलि धेरै रहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका प्रहरी नायब उपरीक्षक सोमेन्द्र राठौर भन्नुहुन्छ- गुण्डालाई राजनीतिक संरक्षण भएन भने अपराधको प्रकृति हेर्दा आजीवन कारावास हुनसक्छ ।
राजनीतिक संरक्षणका कारण अपराधले मौलाउने मौका पाएको छ । दीपक मनाङ्गे हुन् वा गणेश लामा, कुमार घैँटे हुन् वा कर्मा, बागे हुन् वा चरी भनिने दिनेश अधिकारी, आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई यो वा त्यो राजनीतिक दलको संरक्षण रहेको छ । यसैले कुनै राजनीतिक दल सत्तारुढ भयो भने एकखाले अपराधीहरू खोरमा पर्ने र अर्को राजनीतिक दल सत्तारुढ भयो भने अर्को खालका अपराधीहरू खोरमा पर्ने गरेको प्रहरी अधिकारीहरूकै भनाइ छ । यसरी आरोपित राजनीतिक दलहरूमा मुलुकमा प्रमुख राजनीतिक दलहरू पनि रहेका छन् । यी राजनीतिक दलका केही नेताहरूको अपराधीहरूसँगको सम्बन्धले पनि प्रहरी अधिकारीहरूको भनाइमा बल पुग्दछ ।
गुण्डा नियन्त्रण अभियान
गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले एन्टी ग्याङ सेल र भाइरस किलर नामबाट दुईवटा अप्रेसन सुरु गरेको छ । अहिलेसम्म ती अप्रेसनको उपलब्धि भने शून्य छन् । प्रहरीका हाकिम परिवर्तन हुने क्रमसँगै यस्ता अप्रेसनहरू सेलाउने गरेका छन् ।
महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डाहरूलाई 'जीपीएस' प्रविधि -ग्लोबल पोजिसन सिस्टम) मार्फत निगरानी राख्न थालेको छ । सो प्रविधिको सहयोगबाट प्रहरीले अभियुक्त हिँडडुल गरेको स्थान, समय, कुराकानीलगायत विभिन्न क्रियाकलापबारे जानकारी पाउन सक्छ । कुमार घैँटे, बागे लामा, प्रदीप लामा गरी पाँचजनाबाट सुरु गरिएको सो प्रविधिको दायरामा दीपक मनाङ्गे, गणेश लामा, अनिल हेक्का आदिलाई पनि ल्याउने तयारी भइरहेको छ । मोबाइल आकारको सो प्रविधि हरायो, चोरियो वा बोक्न छुटेको खण्डमा तत्काल पक्राउ गरी कानुनी कारबाही चलाउन सक्ने चेतावनी महाशाखाले दिएको छ ।
टोले गुण्डाका रूपमा सक्रिय एउटा सामान्य व्यक्तिले दुई/चारजनाको समूह बनाएर ठूल्ठूला अपराध गर्ने भएकाले गुण्डागर्दी नियन्त्रण जरुरी रहेको निष्कर्षमा प्रहरी पुगेको हो । गुण्डागर्दी तथा सङ्गठित अपराध नियन्त्रणमा सक्रिय प्रहरी नायब उपरीक्षक भूपेन्द्र खत्री गुण्डागर्दीले नै अपराधको जग बसाउने मात्र नभई अपराध मनोवृत्तिको समेत विकास गर्ने बताउनुहुन्छ ।
कमजोर सुरक्षा व्यवस्था
अपराधशास्त्री माधव आचार्य उपत्यकामा अपराध बढ्नुको पछाडि कमजोर सुरक्षा व्यवस्था र फितलो कानुन पहिलो कारण भएको टिप्पणी गर्नुहुन्छ । गुण्डागर्दी भन्ने वित्तिकै सामान्य अपराधको रूपमा लिने परिपाटीका कारण यतिखेर समस्या जटिल बन्दै गएको हो । गुण्डागर्दीबाट नै सङ्गठन अपराधको विकास भएको हो । परिवारको नियन्त्रणभन्दा बाहिर गएका अल्लारे युवाको जमातबाटै अपराधको विजारोपण हुन्छ । पछि गएर भयानक रूप लिन्छ ।
प्रायः पैसाकै लागि धम्की दिने तथा टोल समाजमा छुट्टै किसिमको हैकम जमाउन खोज्नेहरू नै गुण्डागर्दीका 'नायक' हुने गरेका छन् । यस्ता व्यक्तिको मनोवृत्ति नै एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापतर्फ आकषिर्त भइसकेको हुन्छ । यही कारण नै भविष्यमा भयानक समस्याका रूपमा देखापर्छ । यस्ता व्यक्तिलाई कारबाही गरी सही बाटोमा ल्याउनुभन्दा पहिले कानुनी व्यवस्था चुस्त बनाएर त्यस्तो कुलतमा लाग्ने मनोवृत्तिको विकास हुन नै नदिनु उत्तम उपाय भएको विश्लेषण आचार्यको छ ।
उपत्यकामा हुने धेरैजसो अपराधका घटनामा संलग्न व्यक्तिको पृष्ठभूमि अपराधशास्त्री आचार्यको विश्लेषणसँग मेल खान्छ । सर्वप्रथम तः गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको पारिवारिक पृष्ठभूमि नै तल्लो स्तरको रहेको छ । अभिभावकविहीन तथा भए पनि सहयोगको अभावमा सहर पसेकाहरू अपराध क्रियाकलापमा सक्रिय रहेका देखिन्छ । गुण्डागर्दी एवं सङ्गठित अपराधमा संलग्न धेरैजसोको पारिवारिक पृष्ठभूमि हेर्दा आर्थिक रूपमा निकै कमजोर, घरवार तथा अभिभावक नभएकाहरू छन् ।
अभिलेख राख्न सुरू
अपराध अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक भूपेन्द्र खत्री भन्नुहुन्छ- शङ्कास्पद आपराधिक समूह तथा अभियुक्त सबैको अनुसन्धान भइरहेको छ । सङ्गठित अपराधका रूपमा मौलाएको गुण्डागर्दीलाई पूर्णरूपमा निस्तेज पार्न २० वटाभन्दा बढी समूहको रेकर्ड राख्ने, ती समूहले विगतमा गरेका क्रियाकलापमाथि निगरानी राख्ने र अपराध गरेको अभियोगमा पक्राउ गरी कारबाही भइरहेकाहरूको विषयमा समेत पुनः फाइल खोज्ने काम सीआईबीले गरिरहेको छ ।
अपराध घट्ने छाँट छैन
वरिष्ठ अपराध अनुसन्धान अधिकत रणबहादुर चन्द अपराध पूर्णरूपमा नियन्त्रणमा आएर आपराधिक घटनाहरू सङ्ख्यात्मक रूपमा घट्ने सम्भावना देख्नु हुन्न । 'अपराध गर्ने तौरतरिकासँगै नयाँ प्रविधिको प्रयोगले उल्टै अनुसन्धानमा समेत जटिलता ल्याएको छ,' उहाँको ठहर छ ।
अपराध अनुसन्धान ब्युरो प्रमुख भण्डारी पनि नयाँ प्रविधिको प्रयोगसँगै सङ्गठित अपराध माकुराको जालो झँै विकसित हुन थालेको र त्यसैका कारण ब्युरोको आवश्यकता परेको बताउनुहुन्छ ।
अपराध सञ्जाल विदेशसम्म
राजनीतिक सङ्क्रमणकालसँगै फितलो सुरक्षा व्यवस्था, अव्यवस्थित तथा बढ्दो सहरीकरणका कारण उपत्यकामा समूहगत गुण्डागर्दीले सङ्गठित अपराध बढाएको प्रहरीको दाबी छ । स्थिति यति मात्र होइन, सङ्गठन एवं समूहगत अपराधको सञ्जाल अन्तर्राष्ट्रियस्तरसम्म फैलिएको छ । त्यसमा पनि गुण्डागर्दीका नाममा मौलाएको अपराधले दह्रो जरा गाडेको छ ।
प्रहरीको पछिल्लो अनुसन्धान तथा कारबाहीले आपराधिक समूहको सञ्जाल नेपालदेखि भारतमा मात्र नभई सिङ्गापुर र पाकिस्तानलगायत युरोप अमेरिकासम्म रहेको देखाएको छ । भरतपुर क्यान्सर अस्पताल चितवनका चिकित्सक डा. भक्तमान श्रेष्ठको अपहरणदेखि सञ्चारकर्मी जमिम शाहको हत्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक समूहको संलग्नता रहेको दाबी घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले गरेका छन् ।á
उपत्यकामा सक्रिय सङ्गठित अपराध समूहका नाइकेहरू
दीपक मनाङ्गे समूह-
यो समूहका मुख्य व्यक्ति- दीपक मनाङ्गे उर्फ राजिव गुरुङको कार्यक्षेत्र ठमेल हो । २०६०/२०६१ /२०६५ र २०६६ सालमा तीनवटा सार्वजनिक अपराध अन्तर्गत र एउटा ज्यान मार्ने उद्योगमा गरी चार मुद्दा परेका छन् । उनको समूहमा दुई दर्जन अभियुक्त रहेका छन् ।
गणेश लामा एवं काभ्रेली समूह-
काभ्रेली समूहका रूपमा चर्चित गणेश लामा समूहले ठमेल, नयाँबानेश्वर र भक्तपुरलाई अपराध गर्ने मुख्य क्षेत्रका रूपमा प्रयोग गर्दै आएको छ । मनाङ्गे समूहबाट विभाजित भई छुट्टै समूहका रूपमा सङ्गठन यो समूहका मुख्य व्यक्ति लामा तीनपटकसम्म सार्वजनिक मुद्दामा पक्राउ परेका थिए ।
मिलन चक्रे समूहः-
दीपक मनाङ्गेको एन्टी ग्याङका रूपमा सक्रिय मिलन चक्रे उर्फ मिलन गुरुङ समूह महाराजगन्ज तथा बसुन्धरा लगायतका क्षेत्रमा सक्रिय रहेको छ । हाल लागूऔषध तथा हातहतियार खरखजाना मुद्दामा रुपन्देहीबाट पक्राउ परेका गुरुङ कारागारमा रहेका छन् । चक्रेको समूहले एक महिनाअघि प्लटिङका लागि जग्गा सम्याउँदै गरेको डोजरमा आगजनी गरी सहचालकलाई ज्यूँदै जलाउने प्रयास गरेको र नयाँबानेश्वरमा एक सर्वसाधारणमाथि हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेेको थियो ।
घैँटे समूहः-
कुमार घैँटेको वास्तविक थरको सम्बन्धमा प्रहरी सङ्गठनसमेत अनभिज्ञ रहेको छ । सामाखुशी र गोँगबु क्षेत्रलाई अपराधको थलो बनाउँदै आएका घैँटेले दरबारमार्गस्थित नाङ्लो बेकरीमा एकजनामाथि गोली प्रहार गरी फरार रहेकोमा प्रहरीले २०६६ साल वैशाख महिनामा ज्यान मार्ने उद्योग तथा हातहतियार मुद्दामा पक्राउ गरी केन्द्रीय कारागार चलान गरेको थियो ।
कर्मा समूहः-
कर्मा गुरुङ भन्ने राजु गुरुङले सामाखुशी क्षेत्रलाई मुख्य आधार बनाएर गुण्डागर्दी र लुटपाट गर्ने गरेका छन् । हातहतियार खरखजाना अन्तर्गत महानगरीय प्रहरी अपराध महाशाखामा मुद्दा खेपिरहेका कर्माको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनको समूहमा एक दर्जन अभियुक्त सदस्यका रूपमा रहेका छन् ।
बागे भन्ने बाघबहादुर लामा समूह-
बागेका नामले चर्चित बाघबहादुर लामाको समूहको अपराध गर्ने मुख्य स्थान बालाजु रानीवन र बालाजु चक्रपथ क्षेत्र हो । प्रहरीलाई समेत कुटपिट गर्ने कार्यमा सक्रिय बागेले त्यस क्षेत्रका सर्वसाधारणलाई धम्की दिएर लाखौँ रुपियाँ असुल गरी रानीवनमा महल निर्माण गरेका छन् ।
चरी समूहः-
चरी उपनामले परिचित दिनेश अधिकारी समूहले नयाँबजार टाउनप्लानिङ क्षेत्रलाई अपराधको मुख्य अखडा बनाउँदै आएको छ । धादिङ्ग घर भएका चरी ०६६ साल भदौमा प्रहरीसमक्ष आत्मसर्मपण गरी थुनामा रहेका थिए । हाल, थुनामुक्त चरीलाई अपहरण, ज्यान मार्ने उद्योग र फिरौती रकम असुली मुद्दामा अनुसन्धान भइरहेको छ ।
पूर्ण समूहः-
जसवन्त -पूर्ण) गुरुङले आपराधिक क्रियाकलाप सञ्चालनका लागि केही बेरोजगार युवालाई सङ्गठन तुल्याएर आफ्नै नाममा आपराधिक समूह गठन गरेका हुन । ललितपुर चाल्नाखेलका स्थायी बासिन्दा भए पनि त्रिपुरेश्वर, कालिमाटी, सीतापाइला र कलङ्की क्षेत्रलाई अपराधको थलो बनाउँदै आएका छन् ।
रिङ्की पिङ्की समूहः-
क्याबिन रेष्टुराबाट आपराधिक 'करिअर' सुरु गरेका रिङ्की पिङकी समूहका नाइके उमेश लामा र ज्याक लामाले पुरानो बानेश्वरलाई चन्दा असुलीको मुख्य भूमि बनाउँदै आएका छन् । मानव अपहरण तथा शरीर बन्धक उद्योग र रकम असुलीको अभियोगमा दुवैजना लामा फरार छन् ।
क्रान्ति समूह-
बाबु भन्ने विश्व क्रान्ति सिंहले ठेक्कापट्टा तथा टेन्डरलगायत विभिन्न क्षेत्रबाट पैसा उठाउन गठन गरेको यो समूह कलङ्की, बल्खु र सानेपालगायतका क्षेत्रमा सक्रिय रहेको छ । राजु खाते भन्ने राजु बोगटी यस समूहका मुख्य हतियारधारी अभियुक्त हुन् ।
सगुन र हेक्का समूहः-
भक्तपुर जिल्लाका विभिन्न ठाउँलाई अपराधको आधारभूमि बनाएर समूहबीच नै एकआपसमा गोली हानाहान गर्ने यो समूहको मुख्य व्यक्ति सगुन श्रेष्ठ हुन् । अपहरणको अभियोगमा कारबाही भोगिरहेको सगुन समूह र भक्तपुरकै अर्को गुण्डा अनिल हेक्का समूहबीच गोली हानाहान हुने गरेको छ ।
राजु गोरखाली समूहः-
राजु भन्ने राजेन्द्रबहादुर गोरखाली समूह चाबहिल र गौशालालगायतका क्षेत्रमा आपराधिक क्रियाकलाप सञ्चालन गर्न सक्रिय रहेको छ । लागूऔषध कारोबारको अभियोगमा प्रहरी हिरासतमा रहेका गोरखाली समूहमा, विनोद श्रेष्ठ, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, विज्ञान श्रेष्ठ, मनोज तुलाधर र महारानी डङ्गोललगायतका करिव १० जना सदस्य छन् । स्रोत--सिआइबी) प्रहरी प्रधानकार्यालय
.jpg)
No comments:
Post a Comment